काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादपछि भएको चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।

महोत्तरी घर भई डेरा गरी बस्दै आएका २० वर्षीय जाकिर मन्सुरी को चक्कु प्रहारबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार सोही स्थानमा बस्दै आएका ३८ वर्षीय समि अहमद सँग घरायसी विवाद चर्किएपछि घटना भएको हो।

विवादका क्रममा समि अहमदले धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो।

गम्भीर घाइते भएका जाकिरलाई उपचारका लागि मेडपोइन्ट अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।