वाशिङटन डीसी । वैज्ञानिकहरूले हाम्रो आकाशगङ्गा मिल्की वेले करिब १० अर्ब वर्षअघि अर्को सानो आकाशगङ्गालाई निलेर त्यसका अवशेष अझै आफ्नो भित्र बोकेको हुनसक्ने नयाँ प्रमाण फेला पारेका छन् । खगोलविद्हरूले उक्त प्राचीन फुच्चे आकाशगङ्गालाई नर्स पौराणिक कथाका छलकपटका देवता “लोकी” को नामबाट “लोक” नाम दिएका छन् ।
यो खोजले मिल्की वेको प्रारम्भिक विकासबारे हालसम्मको बुझाइ परिवर्तन गर्न सक्ने वैज्ञानिकहरूको विश्वास छ । नासाका अनुसार मिल्की वे करिब १ लाख प्रकाश–वर्ष चौडाइमा फैलिएको छ र यसभित्र १०० अर्बदेखि ४०० अर्बसम्म तारा छन् । प्रकाश–वर्ष भनेको प्रकाशले एक वर्षमा पार गर्ने दूरी हो, जुन करिब ९४ खर्ब ६० अर्ब किलोमिटर बराबर हुन्छ ।
वैज्ञानिकहरूका अनुसार आजको विशाल मिल्की वे सुरुबाट यति ठुलो थिएन । करिब १२ अर्ब वर्षअघि यो साना–साना फुच्चे आकाशगङ्गासँग लगातार ठोक्किँदै र तिनलाई आफूमा समेट्दै विस्तारित हुँदै गएको थियो। तर यसको सुरुवाती आकार र तौल कति थियो भन्ने प्रश्न अझै अनुत्तरित छ । यही रहस्य बुझ्न वैज्ञानिकहरूले यसले निलेका पुराना आकाशगङ्गाका अवशेष खोजिरहेका छन् ।
हालै प्रकाशित एक अध्ययनले मिल्की वेको “ग्यालेक्टिक डिस्क” नजिक अनौठो समूहमा रहेका धातु–गरिब ताराहरू पहिचान गरेको छ। यो अध्ययन रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक जर्नलमा प्रकाशित भएको हो ।
वैज्ञानिकहरूको अनुमानमा यस्ता ताराहरू प्राचीन बौना आकाशगङ्गाबाट आएका हुनसक्छन्, जसलाई मिल्की वेले विगतमा समेटेको थियो। अनुसन्धानकर्ताहरूले युरोपेली अन्तरिक्ष एजेन्सीको गइया टेलिस्कोप र उच्च–रिजोल्युसन स्पेक्ट्रोग्राफ प्रयोग गरेर ती ताराहरूको अध्ययन गरेका हुन्।
वैज्ञानिकहरूका अनुसार ती ताराहरू करिब १० अर्ब वर्षभन्दा पुराना हुन सक्छन् र एउटै प्राचीन प्रणालीबाट आएका हुनसक्ने संकेत देखिन्छ।
यदि यो “लोकी” परिदृश्य पुष्टि भयो भने, मिल्की वेको गठन इतिहास अझ जटिल र रोचक हुने वैज्ञानिकहरूको भनाइ छ। अहिले भने थप अनुसन्धान र तथ्याङ्क आवश्यक रहेको उनीहरू बताउँछन्।
यसअघि पनि मिल्की वेले “गैया–ससेज–एन्सेलाडस” नामक अर्को ठुलो आकाशगङ्गासँग विलय गरेको प्रमाण फेला परिसकेको छ, जसले यसको वर्तमान स्वरूप निर्माणमा ठूलो भूमिका खेलेको मानिन्छ।
अब वैज्ञानिकहरू थप डेटा विश्लेषण गर्दै “लोकी” वास्तवमै स्वतन्त्र आकाशगङ्गा थियो वा होइन भन्ने पुष्टि गर्ने तयारीमा छन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्