काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा महिलाहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने तथा उक्त सुन बिक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न मितिमा भएका दुईवटा लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई लुटेको सुनको सिक्रीसहित पक्राउ गरिएको हो।
गत वैशाख २४ गते दिउँसो साढे १ बजेको समयमा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिल आकासे पुलमा एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट भएको थियो। त्यसैगरी, जेठ ९ गते बिहान साढे ६ बजे काठमाडौंकै बसुन्धरास्थित कल्कीनारायण मन्दिरमा दर्शन गर्न आएकी अर्की एक महिलाको घाँटीबाट पनि सुनको सिक्री लुटिएको थियो। यी दुवै घटनामा संलग्न संखुवासभाको सभापोखरी गाउँपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–बानियाँटार बस्ने ४६ वर्षीय राम कुमार तामाङलाई प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले लुटेको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो।
यस्तै, तामाङले लुटेर ल्याएको सुन खरिद तथा बिक्री वितरण गर्ने कार्यमा संलग्न ललितपुर उपमहानगरपालिका–१ घर भएका ६३ वर्षीय किशोर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा जेठ ९ गते दिउँसो ३ बजेको समयमा काठमाडौँको चाबहिलबाट थापालाई बिक्री गरिएको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्