हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान शिवको दर्शन र पवित्र स्नान गर्न देश–विदेशबाट भक्तजन आउन थालेका छन्।
जेठ ३ गतेदेखि सुरु भएको यो मेला जेठ १२ गतेसम्म चल्नेछ। हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेको स्थानीय होटल व्यवसायी सुब्बा लामाले जानकारी दिएका छन्। यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ।
शिवसँग जोडिएको पौराणिक विश्वास
पुराणअनुसार समुद्र मन्थनका क्रममा निस्किएको कालकूट विषले सृष्टि संकटमा परेपछि भगवान शिवले उक्त विष आफ्नो कण्ठमा धारण गरेका थिए। विषको प्रभाव शान्त पार्न शिव हिमालय क्षेत्रमा पुगे र त्रिशूल प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको धार्मिक विश्वास रहिआएको छ।
यस कारण गोसाइँकुण्डलाई अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ, जहाँ स्नान गरेमा पाप नाश हुने विश्वास छ। विशेष गरी गङ्गादशहरामा यहाँ स्नान गर्दा दश प्रकारका पाप नष्ट हुने र जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने धार्मिक मान्यता छ।
कठिन तर पवित्र यात्रा
समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको गोसाइँकुण्ड पुग्ने यात्रा कठिन भए पनि भक्तजनहरूको आस्था बलियो छ। यात्रा पूरा गरेपछि शारीरिक थकान समेत हराउने अनुभव तीर्थयात्रीहरूले व्यक्त गर्ने गरेका छन्।
काठमाडौँको बालाजुबाट सुरु हुने यात्रा शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती र कालिकास्थान हुँदै धुञ्चे पुग्छ। त्यसपछि चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गणेश गौंडा हुँदै कठिन भिर पार गरेपछि गोसाइँकुण्ड पुगिन्छ।
व्यवस्थापन र सुरक्षा तयारी
तीर्थयात्रालाई सहज बनाउन होटल व्यवसायीहरूले खाद्यान्न र बसोबासको व्यवस्था मिलाएका छन्। जेठ ९ देखि १२ गतेसम्म विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
यात्रा क्रममा सम्भावित दुर्घटना र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा लेक लाग्ने जोखिम हुने भएकाले स्वास्थ्यकर्मीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्। यात्रुहरूलाई अदुवा, कागती, लसुन र बिरेनुन साथमा राख्न सुझाव दिइएको छ। साथै, धुञ्चेमा एक रात विश्राम गरेर शरीरलाई वातावरणसँग अभ्यस्त बनाउने सल्लाह दिइएको छ।
ज्येष्ठ नागरिकका लागि काठमाडौँबाट हेलिकोप्टर सेवा पनि उपलब्ध गराइएको छ।
वातावरण संरक्षणको आग्रह
लाङ्टाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकारीहरूले यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहोर तोकिएको स्थानमै व्यवस्थापन गर्न आग्रह गरेका छन्।
उनीहरूको भनाइमा, “हिमालयको संरक्षण नै भगवान शिवप्रतिको सच्चा श्रद्धा हो।”
यसरी गोसाइँकुण्डमा सुरु भएको गङ्गादशहरा मेला धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको संगम बनेको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्