उत्तर कोरियाले सोमबार पूर्वी समुद्रतर्फ अज्ञात हतियार प्रक्षेपण गरेको जापान र दक्षिण कोरियाले जनाएका छन्।

दक्षिण कोरियाली सेनाको संयुक्त चिफ्स अफ स्टाफले प्रक्षेपण भएको जानकारी दिए पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन। जापानी प्रधानमन्त्री साने ताकाइचीको कार्यालयले पनि प्रक्षेपणको पुष्टि गर्दै उक्त हतियार ब्यालिस्टिक क्षेप्यास्त्र हुन सक्ने बताएको छ।

यसअघि अक्टोबर ३ मा उत्तर कोरियाले वोनसान क्षेत्रबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनको निगरानीमा भएको उक्त परीक्षण मध्यम दूरीको क्षेप्यास्त्रमार्फत ‘हाइपरसोनिक रणनीतिक हतियार प्रणाली’ सञ्चालन गर्ने उद्देश्यले गरिएको थियो।

दक्षिण कोरियाले शुक्रबार आफ्नै प्रविधिमा विकास गरेको हाइपरसोनिक हतियारको पहिलो उडान परीक्षण गरेको थियो। आवाजको गतिभन्दा कम्तीमा पाँच गुणा छिटो उड्न र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने गरी उक्त हतियार विकास गरिएको हो। राष्ट्रपति ली जे म्युङले यसलाई देशको रक्षा क्षमता बलियो बनाउने महत्त्वपूर्ण कदम भनेका छन्।

उत्तर कोरियाले आणविक क्षमतायुक्त हतियारको भण्डार विस्तार गर्ने उद्देश्यले पछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सैन्य अभ्यास तीव्र बनाएको छ। उसले नयाँ युद्धपोत पनि सञ्चालनमा ल्याएको छ। नेता किमले आणविक हतियार कार्यक्रमलाई अघि बढाउँदै अमेरिका र दक्षिण कोरियाले संवाद पुनः सुरु गर्न गरेका प्रस्तावहरू अस्वीकार गर्दै आएका छन्।

गत महिना दुई कोरियाबीचको भारी हतियार तैनाथ सीमाक्षेत्र नजिकै भएको विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि तनाव थप बढेको थियो। दक्षिण कोरियाली सेना र अमेरिकी नेतृत्वको संयुक्त राष्ट्रसंघीय कमान्डले उक्त विस्फोट उत्तर कोरियाले राखेका उपकरणका कारण भएको निष्कर्ष निकालेका थिए, तर उत्तर कोरियाले जिम्मेवारी अस्वीकार गरेको थियो।