कैलालीमा अवैध सामान नियन्त्रणमा लिन खोज्दा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएको हो।

इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कुटपिटबाट घाइते भएका दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार अवैध सामान ओसारपसारमा प्रयोग भएका से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।