काठमाडौंमा . नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा युवा नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। पार्टीका विभिन्न तहका कार्यसमिति तथा भ्रातृ संस्थामा जिम्मेवारी सम्हालिसकेका युवाहरू केन्द्रीय कार्यसमितिमा पुग्ने तयारीसहित चुनावी मैदानमा उत्रिन थालेका हुन्।

असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १५औँ महाधिवेशनमा युवातर्फबाट उल्लेख्य उम्मेदवारी पर्ने देखिएको छ। कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेदेखि गत फागुन २१ गते काठमाडौं–४ बाट कांग्रेस उम्मेदवार बनेका सचिन तिमिल्सिनासम्म केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन्।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। विशेष महाधिवेशनका अभियन्तामध्येका एक डडेल्धुराका जनक चटौत र अछाम–१ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित डा. डीबी सुनारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति श्याम ओझाले पनि उम्मेदवारी घोषणा गरेका छन्। कञ्चनपुर–१ बाट महाधिवेशन प्रतिनिधि बनेका युवा नेता मदन उपाध्यायसमेत केन्द्रीय सदस्यका लागि तयारीमा छन्।

सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि चुनिएकी कांग्रेस सांसद गीता गुरुङ, युवा नेता सुशील भट्टलगायतले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। काठमाडौं–७ बाट महाधिवेशन प्रतिनिधि बनेका भट्ट ३५ वर्षमुनिको कोटाबाट उम्मेदवार बन्ने तयारीमा छन्।

त्यस्तै, बाराबाट महाधिवेशन प्रतिनिधि बनेका युवा नेता नवराज त्रिपाठी र मेघा शाही, कैलालीका आदर्श मल्ल तथा डडेल्धुराका भुवन भट्टले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

सिन्धुलीका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरे, बाँके–३ की कमला हमाल, तनहुँ–२ का राजकुमार श्रेष्ठ र तनहुँ–१ की एलिजा ढकालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

यसैगरी डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशी, दैलेखका प्रेम शाही, मोरङ–३ का महाधिवेशन प्रतिनिधि सविन पराजुली, रोल्पाका डा. सुदनकुमार वली र खोटाङका महाधिवेशन प्रतिनिधि बिकल राई पनि केन्द्रीय सदस्यका आकांक्षीका रूपमा देखिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनका लागि १६५ निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिको कोटामा ४९५ जना महाधिवेशन प्रतिनिधि आएका छन्। खुला तथा आरक्षित दुवै समूहबाट आएका युवा नेताहरू अहिले केन्द्रीय कार्यसमितिमा पुग्ने तयारीमा छन्।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जनाका लागि सदस्य पद आरक्षित गरिएको छ। सात प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना र बाँकी सात जना सबै प्रदेशका मतदाताबीचको प्रतिस्पर्धाबाट चयन हुने व्यवस्था छ।

प्रदेशबाट निर्वाचित हुने १४ जनामध्ये सात जना महिला अनिवार्य हुने व्यवस्था छ। यसबाहेक खुला तथा अन्य क्लस्टरबाट पनि युवा नेताहरूले केन्द्रीय कार्यसमितिका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्।