काभ्रेपलान्चोक : काभ्रेपलान्चोकस्थित रोशी गाउँपालिका–७ मा यात्रुवाहक बस खोलाको बीच भागमा अड्किएको छ।

रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा बस खोलाको बीचमा अलपत्र परेको सशस्त्र प्रहरीले जनाएको छ।

लगातारको झरीका कारण खोलामा बाढी आएपछि बस बीचमै अड्किएको बताइएको छ। बसमा सवार यात्रुहरू भने सुरक्षित रहेको जनाइएको छ।

बसलाई सुरक्षित रूपमा खोला तार्न विपद् व्यवस्थापन बेस भकुण्डेवेसीबाट सहायक प्रहरी निरीक्षक सनी सुमन बुढाथोकीको कमान्डमा १० जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

टोलीले बस तथा यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै उद्धार तथा व्यवस्थापनको काम गरिरहेको जनाएको छ।