इरानको केशम टापुमा दुईवटा मिसाइल खसेको दाबी, अमेरिकी ड्रोन पनि खसालेको इरानी सेनाको भनाइ
इरानको केशम टापुमा दुईवटा मिसाइल खसेको खबर सार्वजनिक भएको छ। यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ।
इरानी समाचार संस्था तस्निमले प्रारम्भिक विवरण उद्धृत गर्दै केशम टापुमा दुईवटा मिसाइल खसेको जनाएको छ। त्यस्तै, इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार विमानको आवाज सुनिएपछि टापुको सोजा क्षेत्रमा दुईवटा प्रक्षेप्य खसेका थिए।
घटनाबाट भएको सम्भावित क्षति तथा मानवीय हताहतीबारे भने अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।
यसैबीच, समाचार संस्था रोयटर्सले इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै केशम टापुमाथि उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोन इरानी सेनाले खसालेको दाबी गरेको जनाएको छ।
यद्यपि, अमेरिकी ड्रोन खसालिएको घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन। त्यस्तै, टापुमा दुईवटा मिसाइल खसेको र ड्रोन खसालिएको भनिएको घटनाबीच कुनै सम्बन्ध छ वा छैन भन्ने पनि स्पष्ट भइसकेको छैन।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्