अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा यूएफसी (अल्टिमेट फाइटिङ च्याम्पियनसिप) प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छन्। अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना हुन लागेको यो प्रतियोगिता आगामी जुन १४ मा हुने तय भएको छ।

विशेष संयोग के छ भने यही दिन ट्रम्पको ८०औँ जन्मदिन पनि परेको छ। यूएफसीका मालिक डाना ह्वाइटसँग निकट सम्बन्ध रहेका ट्रम्पले प्रतियोगिताको तयारीलाई विशेष प्राथमिकता दिएका छन्।

हाल ह्वाइट हाउसको दक्षिणी चौरमा यूएफसी प्रतियोगिताका लागि आवश्यक संरचना निर्माण भइरहेको बताइएको छ। ‘यूएफसी २५०’ नाम दिइएको प्रतियोगितामा विश्वका चर्चित फाइटरहरू सहभागी हुने अपेक्षा गरिएको छ भने हजारौँ दर्शक उपस्थित हुने अनुमान गरिएको छ।

कुश्ती र लडाकु खेलका ठूला समर्थक मानिने ट्रम्प विगतमा डब्लूडब्लूई कार्यक्रममा समेत सहभागी भइसकेका छन्। उनी यूएफसीका खेलहरू नियमित रूपमा हेर्न जाने नेताका रूपमा परिचित छन्।

यसैबीच, चीनको मकाउमा सम्पन्न यूएफसी सम्बन्धित प्रतियोगितामा नेपालका रवीन्द्र ढाँटले शानदार जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेका छन्। ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै उनले प्रभावशाली प्रदर्शन गरेका हुन्।

अब ढाँटले जापानका युनोसुके मिनामी र न्यूजील्याण्डका कशिब मोर्डकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

रवीन्द्र ढाँटको जितसँगै नेपाली खेलप्रेमीबीच उनले भविष्यमा ट्रम्पले आयोजना गर्ने ह्वाइट हाउस यूएफसीमा खेल्न पाउने सम्भावनाबारे चासो बढेको छ। तर यूएफसीका अनुसार ढाँटले अहिले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता मुख्यतः यूएफसीको आधिकारिक करार प्राप्त गर्ने चरण हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने फाइटरहरूले मात्रै यूएफसीसँग औपचारिक कन्ट्राक्ट पाउने भएकाले ढाँटले ह्वाइट हाउस प्रतियोगितामा तत्काल प्रतिस्पर्धा गर्ने सम्भावना भने नरहेको बताइएको छ।

तर अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको बढ्दो उपस्थितिले भविष्यमा नेपाली फाइटरहरू विश्वकै ठूला मञ्चमा देखिन सक्ने आशा भने बलियो बनेको छ।