काठमाडौं। सरकारले पोखराको फिसटेल डेरी प्रालिद्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले एक सूचना जारी गर्दै उक्त ब्रान्डको आइसक्रिममा हानिकारक ब्याक्टेरिया भेटिएको जनाएको हो। विभागले बजार अनुगमनका क्रममा संकलन गरेको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा ‘टोटल ब्याक्टेरिया काउन्ट’, ‘कोलिफर्म काउन्ट’ र ‘इन्टेरोब्याक्टेरियासी काउन्ट’ निर्धारित मापदण्डभन्दा बढी र मानव स्वास्थ्यका लागि हानिकारक पाइएको जनाएको छ। पोखरा औद्योगिक क्षेत्रमा रहेको फिसटेल डेरीले २०८२–०४–१९ मा उत्पादन गरेको १००० मिलीलिटरको ‘ब्याच नं। सी०२’ भएको आइसक्रिममा यस्तो कैफियत देखिएको विभागले स्पष्ट पारेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम उक्त ब्याचका सम्पूर्ण खाद्य पदार्थहरू बजारबाट तत्काल फिर्ता गर्न विभागले उत्पादकलाई निर्देशन दिएको हो । साथै, सोही ऐनको उपदफा (४) बमोजिम उक्त उत्पादन बिक्री वितरण नगर्न र नगराउन समेत सम्बन्धित सबैलाई सूचित गरिएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्