आइतबार हुने नेपाल चलचित्र कलाकार सङ्घको २१औँ चुनावी अधिवेशनअघि अध्यक्ष पदका उम्मेदवार उत्तम केसी ले आफ्नो टिमसहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

शनिबार अनामनगरस्थित एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै उनले ‘एकता, सम्मान र अधिकार – कलाकारको भविष्य, हाम्रो जिम्मेवारी !’ मूल नारासहित घोषणापत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धता पत्रमा कलाकारको हक–हित, श्रमको सम्मान, संस्थागत सुशासन तथा चलचित्र क्षेत्रको समग्र विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।

उत्तम केसीले नेपाली चलचित्र उद्योगलाई केवल मनोरञ्जनको माध्यम नभई कलाकार, प्राविधिक, निर्माता, निर्देशक, पत्रकार, वितरक र सांस्कृतिक संरचनाको साझा आधारका रूपमा व्याख्या गर्दै दीर्घकालीन सुधारका लागि स्पष्ट योजना अघि सारेका छन्।

घोषणापत्रमा कलाकारका लागि न्यूनतम पारिश्रमिक मापदण्ड निर्धारण, लिखित करार प्रणाली अनिवार्य, श्रम शोषण अन्त्य, सुरक्षित कार्य वातावरण, बीमा तथा श्रम अधिकार सुनिश्चित गर्ने योजना समेटिएको छ।

त्यस्तै स्वास्थ्य बीमा, दुर्घटना सहायता, राहत कोष, ज्येष्ठ कलाकारका लागि मासिक सहयोग तथा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ। नयाँ पुस्ताका कलाकारका लागि तालिम, कार्यशाला, अडिसन प्लेटफर्म तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

महिला, आदिवासी, जनजाति, दलित तथा मधेसी समुदायका कलाकारको समान सहभागिता सुनिश्चित गर्ने, सदस्यता प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने तथा वास्तविक कलाकारको पहिचान सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

साथै सङ्घको आर्थिक गतिविधिलाई नियमित अडिट र सार्वजनिक प्रतिवेदनमार्फत पारदर्शी बनाइने तथा सङ्घलाई कुनै पनि सिण्डिकेट वा स्वार्थ समूहको प्रभावबाट मुक्त राख्ने उल्लेख गरिएको छ।

प्रतिबद्धता पत्रमा चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य सङ्घ–संस्था, सरकार तथा अन्तर्राष्ट्रिय चलचित्र सङ्गठनसँग सहकार्य विस्तार गर्ने, कलाकारहरूको बौद्धिक सम्पत्ति अधिकार सुरक्षित गर्ने तथा ओटीटी र डिजिटल प्लेटफर्ममा कलाकारको पहुँच बढाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

उत्तम केसीको टिममा शिवहरी बैरागी, पुजना प्रधान, सुनिल कटुवाल, तेजुला खतिवडा तथा गोपाल ढकाल रहेका छन्।

महाधिवेशनमा केसी प्यानलसँग प्रतिस्पर्धाका लागि सबिन श्रेष्ठ नेतृत्वको अर्को प्यानल पनि चुनावी मैदानमा रहेको छ।