एनपीएल डेब्युमा १६ वर्षीय राहुलको धमाका, पहिलो बलमै विकेटदेखि दुई ओभरमा दुई सिकारसम्म
जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टमार्फत टोलीमा भित्र्याएका १६ वर्षीय युवा खेलाडी राहुल यादवले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै उत्कृष्ट बलिङ गर्दै सबैको ध्यान खिचेका छन्। उनले आफ्नो पहिलो बलमै विकेट लिनुका साथै दुई ओभरमा दुई विकेट हात पार्दै प्रभावशाली सुरुवात गरेका हुन्।
मंगलबार साँझ कर्णाली याक्सविरुद्धको खेलमा राहुलले डेब्यु बलमै विकेट लिने उपलब्धि हासिल गरे। जनकपुरका कप्तान हर्मित सिंहले इनिङ्सको तेस्रो ओभरमा उनलाई बलिङको जिम्मेवारी दिएका थिए। राहुलले पहिलो बलमै कर्णालीका ब्याटर दीपक डुम्रेलाई बोल्ड गर्दै आफ्नो एनपीएल यात्राको सुरुवात गरे।
पहिलो ओभरमा एक रन मात्रै खर्चिएका राहुलले छैटौँ ओभरमा पुनः बलिङ गर्ने अवसर पाए। उक्त ओभरको तेस्रो बलमा उनले पाकिस्तानी ब्याटर हुसेन तलातलाई क्याच आउट गराउँदै व्यक्तिगत दोस्रो विकेट लिए। दोस्रो ओभरमा पनि उनले एक रन मात्रै खर्चिए।
यससँगै राहुलले दुई ओभर बलिङ गर्दै दुई रन खर्चिएर दुई विकेट आफ्नो नाममा लेखाएका छन्। डेब्यु खेलमै यस्तो प्रदर्शन गरेका उनले आफ्नो प्रतिभा प्रमाणित गर्ने अवसर पाएका छन्। खेलको अवस्थामा उनलाई थप दुई ओभर बलिङ गर्ने अवसर बाँकी थियो।
राहुल रौतहटको बौधिमाई नगरपालिका–१ का बासिन्दा हुन्। उनी चन्द्रपुर क्रिकेट एकेडेमीबाट क्रिकेट खेल्दै आएका छन्। सानै उमेरमा क्रिकेटमा देखाएको प्रतिभाकै कारण उनले जनकपुर बोल्ट्सको टोलीमा स्थान बनाउन सफल भएका हुन्।
जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्टमा सहभागी ४४६ खेलाडीमध्येबाट राहुललाई टोलीको आइकोनिक प्लेयरका रूपमा छनोट गरिएको थियो। त्यही अवसरबाट एनपीएलसम्मको यात्रा तय गरेका उनले डेब्यु खेलमै दुई विकेट लिएर आफ्नो छनोटलाई सार्थक बनाउने संकेत दिएका छन्।
एनपीएलको तेस्रो सिजनअन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङमा उत्रिएको कर्णालीविरुद्ध राहुलले सुरुवातमै प्रभाव छाडेका हुन्। १६ वर्षकै उमेरमा राष्ट्रियस्तरको फ्रेन्चाइज प्रतियोगितामा यस्तो प्रदर्शन गर्नु राहुलका लागि उल्लेखनीय उपलब्धि बनेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्