काठमाडौं। यस वर्षको दसैं र तिहारका लागि सर्वसाधारणले नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूबाट नयाँ नोट साट्न पाउने भएका छन्। विगतका वर्षहरूमा जस्तो निश्चित मिति तोकेर नोट वितरण गर्ने नभई यस वर्ष आवश्यकताअनुसार जुनसुकै बेला आउनेलाई निरन्तर सटही सुविधा दिइएको राष्ट्र बैंकले जनाएको छ।
नजिकैको बैंक शाखाबाटै साट्न सकिने
सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्। ग्राहकलाई वितरण गर्नका लागि बैंकहरूले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन्। राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट पनि नोट साट्न सकिनेछ।
एक–दुई सेटसम्म उपलब्ध
नयाँ नोटको मौज्दातमा कुनै समस्या नभएकाले साट्न आउने प्रत्येक व्यक्तिलाई एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइँदै आएको राष्ट्र बैंकले जनाएको छ। दसैंमा नयाँ नोटको माग बढ्ने भएकाले यसअघि राष्ट्र बैंकले तोकिएको मितिमा ठूलो संख्यामा नोट वितरण गर्दै आएको थियो। यस वर्ष भने कुनै विशेष कार्यक्रम वा तामझामबिना नै सहज रूपमा सटहीको व्यवस्था मिलाइएको हो।
एटिएमबाट १०० रुपैयाँको नोट
यसैबीच बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटिएमबाट १०० रुपैयाँ दरका नोट पनि निकाल्न सकिने व्यवस्था गरिएको छ। हाल अधिकांश एटिएमबाट ५०० र १००० रुपैयाँ दरका नोट मात्रै निस्कने गर्छन्। दसैंको बेला सुकिला नोटका लागि बैंकमा भीड नलागोस् भनेर बैंकरहरूले एटिएमबाटै साना दरका नोट निकाल्न मिल्ने व्यवस्थाको सुझाव दिएका थिए।
सुकिला नोट वितरणको अभ्यास
राष्ट्र बैंकले केही वर्षयता दसैंमा पूर्ण रूपमा नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दै आएको छ। एटिएमबाट १०० रुपैयाँ दरका नोट पनि निस्कन थालेपछि दसैं–तिहारमा साना दरका नोटको माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्