चितवन।। नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुनस्स्थापना केन्द्रले तीन हजार २८२ जनाको निस्शुल्क आँखा परीक्षण गरेको छ । शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको निस्शुल्क शल्यक्रिया गरिएको छ ।

भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मङ्सिर १ देखि ५ गतेसम्म जिल्लाका आठ स्थानमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा परीक्षण गराएकामध्ये ३०३ जनामा मोतियाबिन्दु देखिएको र उनीहरूको शल्यक्रिया भइरहेको उनले जानकारी दिए । सोमबार साँझसम्म सबैको शल्यक्रिया सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

शिविरबाट एक हजार ६९० जनालाई निस्शुल्क औषधि तथा चस्मा वितरण गरिएको पनि घिमिरेले जानकारी दिए । आइक्याम्पफोर चितवनका संयोजक राजबन्धु गौतमका अनुसार माडीको थारू सङ्ग्रहालय, भरतपुरको मेघौलीस्थित क्लिनिक नेपाल, कालिकाको शक्तिखोरस्थित स्वास्थ्य चौकी र सिद्धि स्वास्थ्य चौकी, खैरहनीको कठार स्वास्थ्य चौकी, इच्छाकामनाको स्याङ्दीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, राप्ती नगरपालिकाको थाकलटार माध्यमिक विद्यालय तथा रत्ननगरस्थित सपोर्ट एण्ड केयर पुनस्स्थापना केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।

आर्थिक तथा भौगोलिक कारणले आँखा उपचार सेवाबाट वञ्चित नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गौतमले बताए ।

आइक्याम्पफोरले विगत नौ वर्षदेखि हरेक वर्ष निस्शुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रमा सहज रूपमा आँखा उपचार सेवा प्राप्त गर्न कठिनाइ भएका नागरिकलाई आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिए ।

रासस