काठमाडौं — प्रधानमन्त्री बालेन शाहले अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १८४औँ समूहको दीक्षान्त समारोहमा उनले पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हुनुपर्ने बताए।
प्रधानमन्त्री बालेनले तालिममा सिकेका कुरालाई पूर्ण रूपमा आत्मसात् गरी व्यवहारमा उतार्न दीक्षित सबै प्रहरी निरीक्षकलाई निर्देशन दिए। ‘पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु/गराउनु पेसागत सफलताका लागि अहम् आवश्यकता हो,’ उनले भने, ‘जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध रहँदा यी कुरालाई कार्यान्वयन गर्नुहोला।’
उनले सधैँ अग्रभागमा उभिएर देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकको स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताए। ‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला,’ उनले भने। संस्थाको गति आफ्नो भूमिकासँग जोडिएको बुझेर नागरिकको भावनाअनुरूप काम गर्न पनि उनले आग्रह गरे।
प्रधानमन्त्री बालेनले सूचना प्रविधिको प्रयोगबाट समयमै अपराधको अनुसन्धान गर्न र घटना नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे। समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्