आईजीपी कार्कीले बोलाए आकस्मिक पीसीसी बैठक, सातै प्रदेशका डीआईजी र उपत्यकाका एसएसपी पनि सहभागी हुने
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा काठमाडौं उपत्यकाभित्र कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई समेत सहभागी हुन बोलाइएको छ।
सामान्यतया पीसीसी बैठकमा काठमाडौं उपत्यकाभित्रका डीआईजी र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई मात्र सहभागी गराउने गरिएको थियो। तर यसपटक सातै प्रदेशका डीआईजी र उपत्यकाका एसएसपीलाई समेत बोलाइएकाले बैठकलाई चासोका साथ हेरिएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बैठकमा मुख्यतः शान्ति सुरक्षा र संगठनका विभिन्न विषयमा छलफल हुनेछ। पीसीसी बैठकमा सामान्यतया संगठनले अवलम्बन गर्नुपर्ने नीति, कार्यदिशा तथा सामूहिक धारणा निर्माणका विषयमा छलफल हुने गर्छ।
पछिल्लो समय सरकार र आईजीपी कार्कीबीचको सम्बन्ध बिग्रिएको तथा प्रधानमन्त्रीले उनलाई पदबाट हटाउन चाहेको भन्ने विषय सार्वजनिक भइरहेका छन्। यही राजनीतिक तथा प्रशासनिक परिस्थितिबीच कार्कीले बैठक बोलाएपछि यसको उद्देश्य र छलफलका विषयलाई लिएर चासो बढेको छ।
यद्यपि, बैठकमा उठाइने विषय र आईजीपी कार्कीको पदसँग सम्बन्धित निर्णयबारे औपचारिक जानकारी भने सार्वजनिक भएको छैन।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्