१०औँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि, ६ खेलबाट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि त्यसअघि नै ६ खेलमा प्रतिस्पर्धा हुन लागेको हो।

राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेलहरू आजदेखि सञ्चालन हुनेछन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रतियोगिताको अधिकांश तयारी पूरा भएको छ। प्रतियोगिताका लागि विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू सुर्खेत पुग्ने क्रम जारी छ।

१०औँ राष्ट्रिय खेलकुदका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन्। अन्य खेलहरू बर्दिया, सल्यान, पश्चिम रुकुम, दैलेख, कालिकोट र नेपालगञ्जमा सञ्चालन गरिनेछ। यद्यपि कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल आयोजना हुने छैनन्।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३८४ इभेन्ट्समा १ हजार ३३७ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

यसपटकको प्रतियोगितामा रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता मङ्सिर २७ गते समापन हुनेछ।

Do you like this personality?