काठमाडौं,। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रन बनाउँदै अलआउट भयो । आजको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले ती, हर्मित सिंहले तीन र हेमन्त धामीले दुई विकेट झारे ।
पौडेलको कप्तानीमा रहेको लुम्बिनी अपराजित सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा छ । तीन खेलमा एक खेल मात्रै जितेको लुम्बिनी छैटौँ स्थानमा छ । आजको खेल जित्दै लुम्बिनी प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने सुदूरपश्चिमको अपराजित यात्रामा पनि रोक लगाउने योजनामा छ ।आजको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको हो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर प्लेअफनजिक पुग्ने योजनामा छ । यसअघिका तीनवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम छ अङ्कका साथ शीर्ष स्थानमा छ ।आजका लागि दुई खेल निर्धारण गरिएको छ । पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भइरहेको छ भने आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । रासस


COMMENT
.