काठमाडौँ, असार २८ : अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको विश्वकप फुटबलमा लगातार ९ खेलमा गोल गर्ने ऐतिहासिक यात्रा समाप्त भएको छ। जारी विश्वकपको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसक्दा उनको कीर्तिमानी लय टुङ्गिएको हो।
स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिना २–१ ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो। खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गरेको गोलमा मेसीले असिस्ट गरेका थिए। तर उनी व्यक्तिगत रूपमा गोल थप्न भने असफल रहे।
मेसीले सन् २०२२ को कतार विश्वकपदेखि २०२६ को जारी विश्वकपसम्म लगातार ९ खेलमा गोल गर्दै विश्व फुटबलमा दुर्लभ कीर्तिमान कायम गरेका थिए। कतार विश्वकपको नकआउट चरणबाट सुरु भएको उनको गोलयात्रा यस विश्वकपको प्रि-क्वार्टरफाइनलसम्म निरन्तर जारी थियो।
कतार विश्वकपमा उनले अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फ्रान्सविरुद्ध गोल गरेका थिए। यस संस्करणको विश्वकपमा अल्जेरिया, अस्ट्रिया, जोर्डन, केप भेर्डे र इजिप्टविरुद्ध पनि गोल गर्दै उनले लगातार ९ खेलमा गोल गर्ने उपलब्धि हासिल गरेका थिए।
स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसके पनि मेसीको यो प्रदर्शनलाई विश्वकप इतिहासकै उत्कृष्ट व्यक्तिगत लयमध्ये एक मानिएको छ। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्