काठमाडौँ, असार २८ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा)–२०२६ अन्तर्गत रु १ लाख ११ हजार १११ राशिको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ।

राजधानीमा आयोजित कार्यक्रममा इन्फा इभेन्ट्स युके र इन्फा नेपालको संयुक्त आयोजनामा हुने अवार्डका २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो। अवार्डमा २०८२ वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका नेपाली चलचित्र सहभागी छन्।

कार्यक्रममा मनोनित कलाकार तथा प्राविधिकलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो। निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका छन्।

यस वर्ष उत्कृष्ट चलचित्रतर्फ ‘आ बाट आमा’, ‘ऊनको स्विटर’, ‘कोशेढुंगा’, ‘जेरीः अन टप’ र ‘परान’ मनोनयनमा परेका छन्।

उत्कृष्ट अभिनेता विधामा अनमोल केसी, नाजिर हुसेन, नीर शाह, पल शाह र विपिन कार्की प्रतिस्पर्धामा छन् भने उत्कृष्ट अभिनेत्रीतर्फ आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त मनोनयनमा परेका छन्।

यस्तै उत्कृष्ट निर्देशक, पटकथा, छायांकन, सम्पादन, संगीत, गीत, नृत्य निर्देशन, सह–अभिनेता, सह–अभिनेत्री, चरित्र कलाकारलगायत विभिन्न विधामा पनि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको आयोजकले जनाएको छ।