काठमाडौँ, ७ असोजः नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतमाथि कारबाही गरेको छ।
राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै नियामकीय मापदण्ड पालना नगरेका छ वटा लघुवित्त वित्तीय संस्थामाथि विभिन्न प्रकारका कारबाही गरिएको जनाएको हो।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव १२ प्रतिशत मात्र कायम गरेको थियो। नियामकीय मापदण्डअनुसार आवश्यक पुँजीकोष अनुपात कायम नगरेको भन्दै उक्त संस्थामाथि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको हो।
त्यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव ३८ प्रतिशत मात्र कायम गरेको राष्ट्र बैंकले जनाएको छ। नियामकीय मापदण्ड पूरा नगरेको भन्दै उक्त संस्थामाथि पनि विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको छ।
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४ दशमलव ०८ प्रतिशत मात्र कायम गरेको थियो। आवश्यक पुँजीकोष अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले विनियम ३(ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको छ।
यसैगरी, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६ दशमलव ३९ प्रतिशत मात्र कायम गरेको राष्ट्र बैंकले जनाएको छ। नियामकीय मापदण्ड पूरा नगरेको भन्दै उक्त संस्थामाथि विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको हो।
त्यस्तै, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले प्रथम पटकका लागि रु. ५८ दशमलव ३८ पैसा नगद जरिवाना गरेको जनाएको छ।
सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै विभिन्न महिनाका लागि छुट्टाछुट्टै जरिवाना गरिएको छ। राष्ट्र बैंकका अनुसार २०८२ चैत, २०८३ वैशाख, जेठ र असार महिनामा क्रमशः रु. ७१३ दशमलव ८८, रु. १ हजार ६७ दशमलव ४०, रु. १ हजार ४१२ दशमलव ९१ र रु. १ हजार ४१० दशमलव ७८ नगद जरिवाना गरिएको हो।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले नियामकीय व्यवस्था तथा वित्तीय अनुशासन पालना गर्नुपर्नेमा जोड दिँदै उल्लङ्घन भएको अवस्थामा प्रचलित कानुन तथा विनियमावलीअनुसार कारबाही गर्दै आएको जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्