सलमान खानको ट्रोलर्सलाई जवाफ र बिग बोसको मञ्चमा फिटनेस प्रदर्शन। अरूको लुक्स र शरीरमाथि नराम्रो लेख्नेहरूसँग सलमानले प्रश्न गरे। ‘आफ्नै अनुहार वा शरीरसँग असन्तुष्ट हुने मानिसले कहिल्यै नभेटेको व्यक्तिको लुक्समाथि कसरी टिप्पणी गर्न सक्छ,’ उनले भने। ट्रोल गर्नेहरूका घरमा पनि आमा, बहिनी, श्रीमती वा छोरी हुने भएकाले आफ्नै परिवारका सदस्यमाथि यस्ता टिप्पणी हुँदा कस्तो लाग्छ भन्ने सोच्नुपर्ने उनले बताए।

महिलाहरूको शरीरमाथि हुने ट्रोलिङबारे बोल्दै उनले आमा बनेपछि तौल बढ्नु स्वाभाविक हुने बताए। काममा फर्किएपछि फिटनेसमा ध्यान दिने वा परिवारसँग समय बिताउने भन्ने कुरा सम्बन्धित महिलाको व्यक्तिगत रोजाइ भएको उनको भनाइ छ।

साढे आठ वर्षअघिको एउटा घटना स्मरण गर्दै सलमानले आफूलाई अति नै आपत्तिजनक कुरा लेख्ने एक जनाको ठेगाना साइबर सेलको मद्दतले पत्ता लगाएर घरैसम्म पुगेको बताए। त्यस व्यक्तिले आफ्ना अभिभावकसामु माफी मागेपछि आफूले छाडिदिएको उनले खुलासा गरे। कलाकार, इन्फ्लुएन्सर वा नेताहरूको काम मन नपरे गाली नगरी कामको मात्र आलोचना गर्न सकिने उनले बताए।

सोसल मिडियामा आउने जथाभाबी टिप्पणीले धेरै मानिसलाई डिप्रेसनमा पुर्‍याउने गरेको उनले बताए। यसका साथै देशका राजनीतिक विषयमा कलाकारले टिप्पणी नगर्नु उनीहरूको व्यक्तिगत रोजाइ भएको उनले स्पष्ट पारे।

दर्शकहरूप्रति बोल्दै सलमानले भने, ‘फिल्म हेर्न मन छैन भने नहेर्नुहोस्। हाम्रा कारण तिमीहरू बनेका हौ भन्ने नयाँ कुरा आएको छ, हामी दर्शकलाई सम्मान गर्छौँ। तर यसको अर्थ जे गरे पनि सहनुपर्छ भन्ने होइन। तपाईंले फिल्म हेर्न टिकट किन्नुभएको हो, हामीलाई किन्नुभएको होइन। हामी फिल्ममा मनोरञ्जन दिन पूरा प्रयास गर्छौँ।’