खोटाङ । वर्षायाम सुरु भएसँगै नदीमा पानीको सतह बढ्न थालेपछि सुनकोसी नदीमा जडान गरिएका फोक्सिङटार र बंशिलाघाटका बेलिब्रिज एकैसाथ झिकिएका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी रूपमा सञ्चालनमा रहेका बेलिब्रिज हटाइए सँगै खोटाङ जिल्ला पुनः प्राकृतिक नाकाबन्दीको मारमा परेको छ ।

आइतबारदेखि बेलिब्रिज बन्द भएसँगै जिल्लाको दक्षिणी क्षेत्रसँग तराई र प्रदेश राजधानीको सिधा यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ । पुसदेखि सञ्चालनमा ल्याइएका यी बेलिब्रिज खोटाङका हजारौं सर्वसाधारणका लागि जीवनरेखा बनेका थिए । सुनकोसीमाथि स्थायी पुल निर्माणमा भएको ढिलाइ र राज्यको बेवास्ताका कारण हरेक वर्ष वर्षायाममा खोटाङवासीले यातायात, स्वास्थ्य, शिक्षा र व्यापारका क्षेत्रमा गम्भीर समस्या भोग्दै आएका छन् ।

सुरक्षाका कारण हटाइयो संरचना

खोटाङको बराहपोखरी गाउँपालिकाको पौवासेरा र उदयपुरको चौडण्डीगढी नगरपालिका जोड्ने वंशिलाघाटमा जडान गरिएको बेलिब्रिज भौतिक पूर्वाधार कार्यालयले झिकेको हो । भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालका अनुसार सप्तकोसीमा पानीको सतह लगातार बढेकाले बेलिब्रिज बग्ने जोखिम देखिएपछि सुरक्षाका कारण संरचना हटाइएको हो । पानीको बहाव कम भएपछि पुनः जडान गर्ने तयारी गरिने उनले बताए ।

त्यस्तै, सुनकोसीको फोक्सिङटारस्थित बेलिब्रिज पनि आइतबारदेखि हटाउन सुरु गरिएको छ । गाईघाट–दिक्तेल सडक आयोजनाले सञ्चालन गरेको उक्त बेलिब्रिज वर्षा यामभर हटाइने र मंसिर लागेपछि मात्र पुनः सञ्चालनमा ल्याइने आयोजना प्रमुख नवीन पाण्डेले जानकारी दिए ।

६ स्थानीय तह प्रत्यक्ष प्रभावित, छोटो मार्ग बन्द

दुई वटै बेलिब्रिज एकैपटक हटाइएपछि खोटाङका ६ वटा स्थानीय तहका बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । प्रत्यक्ष प्रभावित हुनेहरूमा:

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

  • साकेला गाउँपालिका

  • दिप्रुङ चुईचुम्मा गाउँपालिका

  • खोटेहाङ गाउँपालिका

  • जन्तेढुंगा गाउँपालिका

  • बराहपोखरी गाउँपालिका

यी क्षेत्रबाट विराटनगर, धरान, इटहरीलगायत तराईका सहर पुग्न प्रयोग हुँदै आएको सबैभन्दा छोटो मार्ग पूर्ण रूपमा बन्द भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले सरकार गम्भीर नबन्दा हरेक वर्ष खोटाङवासीले दुःख पाउनुपरेको गुनासो गरे । ‘राज्यले खोटाङलाई देशको भूगोलभित्रै अलग्गै टापुजस्तो बनाइदिएको छ,’ अध्यक्ष राईले भने, ‘सामान्य बिरामीलाई अस्पताल पुर्‍याउन समेत दिनौं लाग्ने अवस्था आउनु दुःखद हो ।’

महँगियो ढुवानी, बिरामीको ज्यान जोखिममा

बेलिब्रिज हटाइएपछि दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत ठूलो समस्या थपिएको छ । खोटाङ उद्योग वाणिज्य संघका महासचिव अजय बस्नेतका अनुसार जिल्लामा खाद्यान्न, निर्माण सामग्री, पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको ढुवानी महँगो र कठिन बन्ने निश्चित छ । यातायात बन्द हुँदा बजारमा उपभोग्य वस्तुको मूल्य स्वतः बढ्ने र यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा पर्ने उनले बताए ।

त्यस्तै, स्वास्थ्य क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । खोटाङका प्रदेशसभा सदस्य पिके राईले गम्भीर बिरामीलाई धरान, विराटनगर र इटहरीका अस्पतालसम्म पुर्‍याउन अब अत्यन्त कठिन हुने बताए । ‘एम्बुलेन्सले छोटो दूरी प्रयोग गर्न नपाउँदा बिरामीको ज्यान जोखिममा पर्न सक्छ, सरकारले वैकल्पिक व्यवस्था तत्काल गर्नुपर्छ,’ उनले माग गरे ।

लामो र जोखिमपूर्ण यात्राको बाध्यता

अब खोटाङबाट धरान, इटहरी र विराटनगर पुग्न यात्रुले भोजपुर–धनकुटा हुँदै वा ओखलढुंगाको हर्कपुर, घुर्मी र कटारीको लामो तथा जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने भएको छ । यसले यात्राको समय र खर्च दुवै गुणात्मक रूपले बढाउनेछ । कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले पहिले केही घण्टामा पुगिने ठाउँ अब पूरा दिन लगाएर पुग्नुपर्ने अवस्था आउँदा सर्वसाधारणमाथि थप आर्थिक भार परेको बताए ।

एमाले खोटाङका नेता इन्द्र दंगालले दुई वर्षअघि आएको बाढीले फोक्सिङटारको पक्की पुल बगाएपछि खोटाङ लगातार समस्यामा पर्दै आएको स्मरण गरे । ‘हरेक वर्ष बेलिब्रिज हाल्ने र झिक्ने प्रक्रियाले जनतालाई धेरै दुःख दिएको छ,’ उनले भने, ‘अब वर्षायाममा समेत सञ्चालन गर्न मिल्ने दीर्घकालीन संरचना निर्माण गर्न सरकारको ध्यान पुगोस् ।’

स्थायी पुल निर्माणमा भएको चरम ढिलाइ, वैकल्पिक सुरक्षित सडकको अभाव र वर्षायाम सुरु हुनासाथ यातायात सम्पर्क विच्छेद हुने नियतिका कारण खोटाङवासी राज्यप्रति आक्रोशित छन् । स्थानीयबासीले सरकारसँग तत्काल दीर्घकालीन र सुरक्षित यातायात व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।