एनपीएल : चितवनलाई २४ रनले हराउँदै कर्णालीको सुखद बिदाइ
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीले प्लेअफमा पुगिसकेको चितवनलाई हराउँदै जित निकालेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९ ओभर १ बलमा १ सय २९ रनमै समेटियो।
चितवनका लागि उसामा मीरले सर्वाधिक २८ रन बनाए। उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे। कामिल मिसाराले २५, कुशल मल्लले १८ तथा देव खनालले १४ रनको योगदान दिए।
कर्णालीको बलिङमा हुसेन तलातले सर्वाधिक ३ विकेट लिए। पवन सर्राफ र मार्क वाटले २–२ तथा सोमपाल कामीले १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो।
कर्णालीका हुसेन तलातले अविजित ५१ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए। उनले ३३ बलमा ३ छक्का र २ चौका प्रहार गरे। त्यस्तै आरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३५ रन जोडे। उनको इनिङ्समा ४ चौका र २ छक्का समावेश थियो।
गुल्सन झाले ६ बलमा १८ रन बनाए भने कप्तान डेभिड मिलरले ५ र दीपक डुम्रेले ७ रन जोडे।
चितवनका कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान २–२ विकेट लिए। रिजन ढकाल र सिकन्दर राजाले १–१ विकेट आफ्नो नाममा गरे।
यस जितसँगै कर्णालीले प्रतियोगितामा जितका साथ यात्रा टुंग्याएको छ। यता चितवन भने यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्