अन्य दललाई मत दिएको प्रमाणित भए कारबाही हुन्छ : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आबद्ध रहेर अन्य दलका उम्मेदवारलाई मतदान गरेको पुष्टि भए सम्बन्धित सदस्यलाई कारबाही गरिने बताएका छन्।
शनिबार च्यासलमा आयोजित एमाले बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र रहेर अन्य दललाई सहयोग गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका हुन्।
उनले पार्टीको निर्णय र नीतिविपरीत गतिविधि गरेको प्रमाण भेटिए सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण सोधिने, छानबिन गरिने र दोषी ठहरिए कारबाहीको प्रक्रिया अघि बढाइने बताए। पार्टीमा आबद्ध भएर बेइमानी गर्ने छुट कसैलाई नभएको उनको भनाइ थियो।
स्थानीय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भमा अध्यक्ष ओलीले पार्टीभित्र देखिएका असन्तुष्टि र अन्तरविरोधलाई आपसी छलफलबाट समाधान गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले आन्तरिक एकता कायम गर्दै निर्वाचनको तयारीमा सक्रिय हुन निर्देशनसमेत दिए।
बैठकमा एमाले सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले आगामी स्थानीय तह निर्वाचनको तयारी र मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना हुने भेलाका विषयमा छलफल हुने जानकारी दिए।
एमालेका अनुसार बैठक आइतबारसम्म सञ्चालन हुनेछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्