काठमाडौँ, असार २८ : कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर बाढीका कारण डुबानमा परेपछि सरकारले त्यहाँ रहेका सुकुम्बासीलाई भक्तपुरमा स्थानान्तरण गरेको छ।
सरकारले शनिबार र आइतबार गरी दुई दिनमा ३१ परिवारका ८९ जनालाई भक्तपुरको खरिपाटीमा सारेको छ। केही सुकुम्बासीलाई भने भक्तपुरकै बोडे क्षेत्रमा पनि स्थानान्तरण गरिएको छ।
बागमती किनारका बस्ती डुबानको जोखिममा रहेको भन्दै गत वैशाख १२ गतेदेखि सुन्दरीघाटको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी दुई महिनासम्म स्थायी व्यवस्थापन नहुँदा थप समस्यामा परेका थिए। दुई दिनअघि आएको बाढीले होल्डिङ सेन्टरमा पानी पस्दा उनीहरूको अधिकांश लत्ताकपडा, खाद्यान्न र अन्य घरायसी सामग्री नष्ट भएको थियो।
मध्यराति आएको बाढीपछि सुरक्षाकर्मीले डुङ्गामार्फत उद्धार अभियान सञ्चालन गरेका थिए। डुबानमा परेका १५४ जनामध्ये ५४ जनालाई त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित स्थानान्तरण गरिएको थियो। ६ जना आफन्त वा अन्यत्र बस्न गएका थिए भने ९४ जनाले तत्काल अन्यत्र जान अस्वीकार गरेका थिए।
बाढीका कारण प्रभावित सुकुम्बासीको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनको माग भने अझै कायम रहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्