काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेको छ। बाढीका कारण त्यहाँ आश्रय लिएर बसिरहेका ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटीस्थित होल्डिङ क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गरिएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार सेन्टरमा बाढी पसेपछि प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको हो।

उनका अनुसार खरीपाटीस्थित होल्डिङ क्षेत्रमा आवश्यक स्थान खाली गरिसकिएको छ र प्रभावित परिवारको सुरक्षित बसोबासका लागि आवश्यक व्यवस्थापन भइरहेको छ।

यसअघि समितिले सुकुमबासीलाई सुरक्षित स्थानमा सर्न तथा आफैँ कोठा खोजेर बस्न आग्रह गर्दै पहिलो चरणको राहत तथा पुनर्स्थापनाअन्तर्गत प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसहित होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो। तर अधिकांश परिवारले सेन्टर नछोडेकाले स्थानान्तरण प्रक्रिया ढिलाइ भएको थियो।

आयोजना निर्देशक महर्जनका अनुसार समितिले सुरुमा आफ्नो व्यवस्थापन आफैँ गर्न सक्ने परिवारलाई घरभाडामा बस्ने व्यवस्था मिलाउन र असक्त तथा अपाङ्गता भएका व्यक्तिलाई सरकारी व्यवस्थापनमा सुरक्षित स्थानमा राख्ने योजना बनाएको थियो। तर आकस्मिक बाढीका कारण विपद्को अवस्था सिर्जना भएपछि अहिले सबै प्रभावित परिवारलाई खरीपाटीमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो।

समितिले प्रभावित परिवारको सुरक्षा, बसोबास तथा आवश्यक राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर स्थानान्तरण प्रक्रिया अघि बढाएको जनाएको छ।