काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौँमा भएका दुई आत्मदाहका घटनाले फेरि एकपटक राज्यको उत्तरदायित्व, नागरिकको सम्मान र जीविकोपार्जनको अधिकारमाथि गम्भीर प्रश्न उठाएका छन्। २०७९ माघ १० गते संघीय संसद् भवनअगाडि इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए भने ठिक तीन वर्षपछि त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले पनि त्यही बाटो रोजे।

फरक समय, फरक परिवेश र फरक पात्र भए पनि दुवै घटनामा एउटा साझा सन्देश देखिन्छ—देशमै इमानदारीपूर्वक काम गरेर बाँच्न पाउने वातावरणको अभाव।

गणेश नेपालीको घटना

मुगुको सोरु गाउँपालिकाबाट काठमाडौं आएका गणेश नेपाली पठाओ चलाएर जीविकोपार्जन गर्दै आएका थिए। राहदानी विभागअगाडि उनको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले 'नो पार्किङ' भन्दै ह्वील लक लगाएपछि विवाद भएको थियो।

प्रत्यक्षदर्शी र सार्वजनिक भिडियोअनुसार नगर प्रहरीसँग चर्काचर्की भएपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्किएर आगो लगाएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको छ।

प्रेम आचार्यको घटना

२०७९ माघ १० गते इलामका उद्यमी प्रेमप्रसाद आचार्यले संसद् भवनअगाडि आत्मदाह गरेका थिए। आत्मदाहअघि उनले सामाजिक सञ्जालमार्फत २५ बुँदे लामो सन्देश सार्वजनिक गर्दै नेपालको आर्थिक नीति, साना उद्यमीले भोग्नुपरेको समस्या, व्यापारिक सिन्डिकेट, बैंकको ब्याज र सरकारी नीतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

उनको मुख्य माग देशभित्रै सम्मानपूर्वक उद्यम गरेर बाँच्न सकिने वातावरण निर्माण गर्नु थियो।

सरकार फेरिए, समस्या फेरिएन

प्रेम आचार्यको घटनापछि मुलुकमा पटक–पटक सरकार परिवर्तन भए। सत्ता, नेतृत्व र राजनीतिक समीकरण फेरिए पनि नागरिकले भोग्ने दैनिक समस्या भने समाधान हुन नसकेको टिप्पणी भइरहेको छ।

गणेश नेपालीको घटनापछि पनि राज्यको संवेदनशीलता, सार्वजनिक निकायको व्यवहार र श्रम गरेर जीविका चलाउने नागरिकप्रतिको दृष्टिकोणबारे प्रश्न उठिरहेका छन्।

पुराना अभिव्यक्ति फेरि चर्चामा

प्रेम आचार्यको आत्मदाहपछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले "यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो" भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।

त्यसैगरी तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि यस्तो अवस्था आउनु राज्यको असफलता भएको उल्लेख गर्दै आचार्यप्रति श्रद्धाञ्जली र आत्मालोचना व्यक्त गरेका थिए।

गणेश नेपालीको घटनापछि उनीहरूको तत्कालीन अभिव्यक्ति पुनः सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन् भने वर्तमान घटनामा उनीहरूको प्रतिक्रियाबारे पनि सार्वजनिक चासो बढेको छ।

उठेका प्रश्न

प्रेम आचार्य र गणेश नेपालीका घटनाले फरक परिस्थितिमा एउटै प्रश्न उठाएका छन्—के नागरिकले नेपालमै सम्मानपूर्वक काम गरेर बाँच्न पाउने वातावरण निर्माण भएको छ?

नियम कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसको कार्यान्वयनका क्रममा नागरिकको सम्मान, संवाद र संवेदनशीलतालाई बेवास्ता गरिँदा यस्ता दुःखद घटना दोहोरिन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

यी दुई घटनाले आत्मदाह व्यक्तिगत निर्णय मात्र नभई राज्य, नीति र सार्वजनिक प्रणालीप्रति व्यक्त भएको गम्भीर असन्तुष्टि र निराशाको संकेतका रूपमा बहसलाई पुनः केन्द्रमा ल्याएको छ।