काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’को संज्ञा दिएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै महरले सरकार जनतालाई बचाउनभन्दा मार्न उद्यत रहेको आरोप लगाए। उनले संसद्मै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै महरले सरकार ‘स्टन्ट’ गर्नमै केन्द्रित भएको आरोप लगाए। उनले राज्यले नागरिकलाई आत्मदाह गर्न बाध्य बनाएको भन्दै यस्तो अवस्था सिर्जना हुनु सरकारको गम्भीर असफलता भएको बताए।
“स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ। राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्याएको छ। सुकुम्बासी हुन् वा गणेश नेपाली, नागरिकलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ। यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ,” महरले भने।
उनले निरंकुश राणा शासनविरुद्ध योगमाया न्यौपानेले गरेको जलसमाधिको प्रसंग स्मरण गर्दै गणेश नेपालीको आत्मदाहले पनि वर्तमान सरकारलाई ठूलो राजनीतिक मूल्य चुकाउनुपर्ने दाबी गरे।
“योगमाया न्यौपानेको जलसमाधिले राणा शासन ढल्यो भने गणेश नेपालीको आत्मदाहका कारण यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्नेछ। यो हत्याको जिम्मेवार यही सरकार हो,” उनले भने।
सम्बोधनको अन्त्यमा महरले सरकार जनताको पक्षमा नभई जनतालाई पीडामा धकेल्ने काममा लागेको आरोप लगाउँदै आक्रोशपूर्ण रूपमा ‘यो सरकार मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए।
साथै, सरकारले १०० दिनका उपलब्धि सार्वजनिक गरिरहँदा गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रमसमेत कटौती गरेको भन्दै उनले सरकारको नैतिकतामाथि प्रश्नसमेत उठाए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्