खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते, आरोपित पक्राउ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घरायसी विवादपछि ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घरमा पुगेर खुकुरी प्रहार गर्दा उनकी श्रीमती, सासु, साली र सालो घाइते भएका हुन्।
प्रहरीका अनुसार च्यास्मीटारस्थित जारबुङका राईले गएराति आहालेस्थित ससुराली घरमा पुगेर खुकुरी प्रहार गरेका थिए। घटनामा ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल, दुर्छिममा उपचार भइरहेको छ। घाइतेमध्ये अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट तीन महिलाको टाउकोको पछाडिपट्टि र हातमा चोट लागेको छ भने नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। नरेन्द्रको अवस्था भने सामान्य रहेको जनाइएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भमा फरार रहेका आरोपित नइन्द्रकुमारलाई प्रहरीले खोजतलास गरी गएराति नै नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीयका अनुसार श्रीमतीसँग घरायसी विवाद भएपछि घटना भएको हो। पीडित परिवारले भने आरोपितले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको आरोप लगाएको छ। घटनाको वास्तविक कारण र परिस्थितिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आरोपित नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएका बेला घटना भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्