काठमाडौँ, असार २८ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन तथा पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि अधिकारसम्पन्न राष्ट्रियस्तरको निकाय गठन गर्नुपर्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काठमाडौँ उपत्यकामा सडक तथा फुटपाथ निर्माण गर्दा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका र फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको बताए।

उनले सडक निर्माणका क्रममा फुटपाथलाई प्राथमिकतामा नराखिएको र निर्माण गरिएका फुटपाथसमेत सबै नागरिकले सहज रूपमा प्रयोग गर्न मिल्ने गरी नबनाइएको उल्लेख गरे।

सभापति थापाले सडक दुर्घटनालाई घटना भएपछि मात्र विश्लेषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै दुर्घटना किन हुन्छ भन्ने विषयमा पूर्वअध्ययन र वैज्ञानिक विश्लेषण आवश्यक रहेको बताए। साथै सडक सुरक्षालाई दीर्घकालीन रूपमा सुधार गर्न नीतिगत र संस्थागत व्यवस्था सुदृढ गर्नुपर्ने उनको भनाइ थियो।