काठमाडौं।। शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिइ–नेपाल०ले पछिल्लो समय तराईका विभिन्न स्थानमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र बालबालिकाको शिक्षाको संरक्षणका लागि अपिल गरेको छ ।

एनसिइ–नेपालका अध्यक्ष लवराज ओलीद्वारा आज जारी अपिलमा विशेषगरी सुनसरी, सिराहा र जनकपुरमा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

अपिलमा नेपालको संविधानले सुनिश्चित गरेका धार्मिक स्वतन्त्रता, समानता, समावेशिता र मानवअधिकारका मूल्यको संरक्षण गर्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि मतभेद वा विवादको समाधान हिंसाबाट नभई संवाद, सहिष्णुता र पारस्परिक सम्मानबाट हुनुपर्नेमा जोड दिइएको छ ।

धार्मिक, सामाजिक वा राजनीतिक विवादका कारण बालबालिकाको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य र समग्र विकासमा प्रतिकूल असर पर्न नदिन राज्य तथा सम्बन्धित सबै पक्षलाई विशेष जिम्मेवारीका साथ अघि बढ्न पनि अपिलमार्फत आग्रह गरिएको छ ।

सो अभियानले वर्तमान परिस्थितिले विद्यालय, समुदाय र सार्वजनिक जीवनमा शान्ति शिक्षा, मानवअधिकार शिक्षा, नागरिक शिक्षा तथा अन्तरधार्मिक र अन्तरसांस्कृतिक समझदारीलाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।रासस