रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट बिदा, २३ वर्षे यात्रा टुंग्याउने घोषणा
पोर्चुगलका विश्वचर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल करियर अन्त्य गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै ४१ वर्षीय रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट अब नखेल्ने निर्णय सुनाएका हुन्।
सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले २३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रालाई पूर्णविराम लगाउने बताएका छन्।
उनले पोर्चुगलका लागि १४६ गोल गर्दै २३४ खेल खेलेका छन्। यी दुवै उपलब्धि अन्तर्राष्ट्रिय पुरुष फुटबलका कीर्तिमानका रूपमा उल्लेख गरिएका छन्।
बीबीसीका अनुसार रोनाल्डोले आफ्नो चर्चित सात नम्बरको जर्सी अब राष्ट्रिय टोलीलाई फिर्ता गर्ने समय आएको बताएका छन्। उनले भनेका छन्, ‘२३ वर्षसम्म यो जर्सी लगाउन पाउनु मेरो सौभाग्य रह्यो। अब यसलाई भविष्यका खेलाडीका लागि हस्तान्तरण गर्ने दिन आएको छ।’
उनका अनुसार सन् २००३ को अगस्टमा सुरु भएको यात्राले उनको जीवन नै परिवर्तन गरेको थियो। राष्ट्रिय टोलीसँगको लामो सम्बन्ध अन्त्य गर्ने निर्णय सहज नभए पनि अब नयाँ पुस्तालाई अवसर दिने समय आएको उनले बताएका छन्।
पोर्चुगलका लागि लामो समय कप्तानी गरेका रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइलाई उनको खेल जीवनको एउटा महत्वपूर्ण अध्यायको अन्त्यका रूपमा हेरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्