राष्ट्रिय कर दिवसमा १९ व्यक्ति तथा कम्पनी सम्मानित, सबैभन्दा बढी आयकर तिर्नेमा सूर्य नेपाल

सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर दाखिला गर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको छ।

राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित करदातालाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए।

सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। एकलौटी फर्मतर्फ थर्ड आईले सम्मान पाएको छ। त्यस्तै, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएका छन्।

कृषि तथा पशुपक्षीजन्य कारोबारतर्फ ओसिबी एण्ड फुड्स फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक, स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटन व्यवसायमा सोल्टी होटल सम्मानित भएका छन्। वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालिले सम्मान प्राप्त गरेको छ।

त्यसैगरी, ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामा फुड एण्ड बेभरेज टेक्नोलोजी सम्मानित भएको छ। ऊर्जा उद्योगतर्फ भोटेकोसी हाइड्रोपावर र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेडले सम्मान पाएका छन्। व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्।

यसैगरी, आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड परेको छ।

वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातातर्फ इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगतर्फ वरुण बेभरेज, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर र लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएका छन्।

यसै अवसरमा मुलुकको राजस्वमा उच्च योगदान पुर्‍याएको भन्दै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मानसमेत प्रदान गरिएको छ।