नेपालका पश्चिमी क्षेत्रबाट यस वर्षको मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार असोज १७ गते बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको छ।
मौसमविद्का अनुसार मनसुन एकैपटक देशभरबाट बाहिरिँदैन। यो प्रणाली पश्चिमी क्षेत्रबाट क्रमशः पूर्वतर्फ सर्दै कोसी प्रदेशबाट बाहिरिने गर्छ। त्यसैले नेपालका बाँकी भूभागबाट मनसुन पूर्ण रूपमा हट्न अझै केही दिन लाग्ने सम्भावना छ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो। तर यो औसत मिति भएकाले मनसुन केही दिनअघि वा पछिसमेत बाहिरिन सक्छ। यस वर्ष औसत मितिको भोलिपल्ट अर्थात् अक्टोबर ३ मा देशका केही प्रदेशबाट मनसुनको प्रभाव हटेको हो।
यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा ६ दिन ढिलो जुन १९ अर्थात् असार ५ गते कोसी प्रदेशबाट प्रवेश गरेको थियो। त्यसपछि क्रमशः फैलिँदै जुन ३० अर्थात् असार १६ गतेसम्म देशभर फैलिएको थियो।
मनसुन अवधिमा नेपालमा पूर्वी वायुको प्रभाव रहन्छ भने मनसुन बाहिरिएपछि पश्चिमी वायुको प्रभाव बढ्दै जान्छ। मनसुन पूर्ण रूपमा बाहिरिएपछि पोस्ट-मनसुन अर्थात् मनसुनपछिको मौसम सुरु हुन्छ। यो अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
डिसेम्बरदेखि फेब्रुअरीसम्म हिउँदको मौसम रहन्छ भने मार्चदेखि मेसम्म प्रि-मनसुन अर्थात् मनसुनपूर्वको मौसम हुन्छ। यसरी नेपालमा मौसमलाई प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी चार भागमा वर्गीकरण गरिएको छ।
आजको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र देशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेशसहित कोसी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
शनिबार राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र देशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
रातिको समयमा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। तराईका भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्