काभ्रे । पहिरो खस्दा काभ्रेको अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित अरनिको राजमार्ग सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटोसहितको पहिरो खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन बिष्टका अनुसार पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन रोकिएको छ।

पहिरोका कारण अरनिको राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सडक खुलाउन सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको डीएसपी बिष्टले जानकारी दिए।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन आवश्यक उपकरणसहितको टोली परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।