ओलीको आरोप : देशमा भय र त्रासको वातावरण, प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुलुक भय र त्रासको वातावरणबाट गुज्रिरहेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले देशमा स्वेच्छाचारी शासन सञ्चालन भइरहेको र असंवैधानिक तथा गैरकानुनी गतिविधि बढेको दाबी गरेका हुन् ।
उनले सरकारमाथि दमनकारी र प्रतिशोधपूर्ण व्यवहार देखाएको आरोप लगाउँदै त्यसविरुद्ध प्रतिरोधका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । सुरुदेखि नै एमालेमाथि निर्मम हमला भइरहेको उल्लेख गर्दै उनले यस्तो गतिविधि जारी रहे त्यसको मूल्य महँगो पर्ने चेतावनीसमेत दिए ।
गत वर्ष भएका हिंसात्मक घटनालाई वैधानिकता दिन निर्वाचनलाई माध्यम बनाइएको ओलीको टिप्पणी थियो । उनले संघर्षबाट स्थापित भएको एमालेले समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्ने भन्दै पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरे ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति योजनाबद्ध रूपमा दिएको आरोप लगाउँदै ओलीले त्यसप्रति आपत्ति जनाए । उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएर भविष्यका लागि प्रमाणका रूपमा राख्न खोजिएको हो भन्दै उनले प्रश्नसमेत गरे ।
दुई दिनसम्म सञ्चालन हुने एमालेको राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी भएका छन् । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिनुका साथै आगामी स्थानीय तहको निर्वाचनको पूर्वतयारी गर्ने उद्देश्यले भेला आयोजना गरिएको एमालेले जनाएको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्