चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्र जाने सडक भासिएपछि केबलकार सेवा बन्द भएको छ।

निरन्तरको वर्षासँगै आइतबार गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।

इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै नदीले धार परिवर्तन गरेको छ। नदीको तीव्र बहावले झोलुङ्गे पुलमा लगातार प्रहार गर्दा मुख्य राजमार्गसमेत चर्किएको र केबलकारतर्फ जाने भित्री सडक भासिएको हो।

सडकमा क्षति पुगेपछि मनकामना केबलकार सेवा तत्कालका लागि बन्द गरिएको छ। नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासका क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए।

नदीको बहाव र सडकको अवस्थालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाइएको छ।