मेरा हात सफा छन्, ढुक्कले मेरो पक्षमा बोल्नुहोस् :नेपाली कांग्रेसका सभापति गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गर्दै आफ्नो पक्षमा निर्धक्क भएर बोल्न समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।
बिहीबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै थापाले आफूले कुनै पनि अनुचित काम नगरेको र आफ्नो हात सफा रहेको बताएका हुन्।
‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, भाइ, छोरा, साथी र सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्। मेरा पक्षमा ढुक्कले बोल्नुहोस्,’ उनले भनेका छन्।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी लडाइँका क्रममा बिचौलिया इनम सापकोटाको बयानमा आर्थिक लेनदेनको विषय उठेपछि थापाले त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले कांग्रेसको आधिकारिकता प्राप्त गर्ने कानुनी प्रक्रियामा आफूले एक सुका पनि अनुचित आर्थिक लेनदेन नगरेको स्पष्ट पारेका छन्।
‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिकताको कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन र भएको पनि छैन,’ थापाले भने।
उनले आफूमाथि उठाइएका प्रश्नको जवाफ दिँदै गलत ठाउँमा प्रश्न गर्नुभन्दा सम्बन्धित विषय र व्यक्तिसँग सही प्रश्न गर्नुपर्नेमा जोड दिएका छन्।
थापाले कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र भएको विद्रोहको संज्ञा दिँदै विद्रोह गर्नेहरूले परिणामको चिन्ता नगर्ने धारणा पनि राखेका छन्। पछिल्लो विवाद र आरोपका बीच सार्वजनिक भएको उनको भिडियो सन्देशलाई आफ्नो नैतिकता र राजनीतिक अडानमाथि उठेका प्रश्नको जवाफका रूपमा हेरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्