Content:

काठमाडौं। असोज ५ गते बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पोखरियामा एउटा फोन आयो। फोन गर्ने थिए धोबिनी गाउँपालिका–५ का श्रीनिवास साह तुहा। उनले आफ्नी वृद्ध श्रीमतीको हत्या भएको र कोठाभरि रगत छरिएको खबर प्रहरीलाई दिए।

सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोली घटनास्थल पुग्यो। साहको साढे दुई तले पक्की घरको दोस्रो तलाको बीचको कोठामा उनकी श्रीमती ६२ वर्षीया लखरजिया देवी मृत अवस्थामा भेटिइन्। उनीमाथि धारिलो हतियारले प्रहार गरिएको थियो।

घटनास्थलमा भेटिएन ठोस प्रमाण
प्रहरीले घटनास्थल सुरक्षित गरी मुचुल्का उठायो। तालिमप्राप्त कुकुर पनि प्रयोग गरियो। तर, अनुसन्धानलाई दिशा दिने कुनै ठोस प्रमाण वा क्लु फेला परेन। घटनास्थलको अवस्था हेरेर भने प्रहरी यो हत्या नै भएको निष्कर्षमा पुगिसकेको थियो।

श्रीमान्‌ले किन चाल पाएनन् ?
प्रारम्भिक अनुसन्धानमा लखरजियाको असोज ४ गते मध्यरातमा हत्या भएको खुल्यो। छोराछोरी अध्ययनका लागि काठमाडौंमा रहेकाले घरमा श्रीमान्–श्रीमती मात्र बस्थे। उनीहरू पहिलो तलामा सुत्थे, तर शव भने दोस्रो तलामा भेटिएको थियो। श्रीमतीको हत्या हुँदा सँगै बस्ने श्रीमान्‌ले कसरी थाहा पाएनन् र लखरजिया राति किन माथिल्लो तलामा पुगिन् भन्ने प्रश्नमा प्रहरीको अनुसन्धान केन्द्रित भयो।

दराजबाट रकम र गहना गायब
अनुसन्धानका क्रममा हत्या भएको कोठाको दराजमा राखिएको रकम र सुनका गरगहना चोरी भएको पत्ता लाग्यो। टिनको बाकस पनि फोड्ने प्रयास गरिएको अवस्थामा भेटियो। त्यसपछि प्रहरीले चोरीको प्रतिकार गर्दा हत्या भएको हुनसक्ने कोणबाट अनुसन्धान अघि बढायो।

अनुसन्धानअनुसार चोरी गर्ने समूह राति करिब २:३० बजे घरको पछाडिको पर्खाल नाघेर भित्र पसेको थियो र पछाडिबाटै दोस्रो तलासम्म पुगेको थियो। टिनको बाकस फोड्दाको आवाज सुनेर लखरजिया पहिलो तलाबाट माथि पुगेकी थिइन्। उनी माथि पुग्नासाथ समूहले धारिलो हतियारले प्रहार गरेको प्रहरीको निष्कर्ष छ। त्यतिबेला श्रीमान् श्रीनिवास पहिलो तलामै सुतिरहेका थिए।

"राति माथिल्लो तलामा टिनको बाकस फुटाउँदा चाल पाएर उहाँ माथि जानुभएको देखिन्छ, सोही क्रममा चोरी गर्ने समूहले हत्या गरेको हो," जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले बताए।

पुरानो पृष्ठभूमिबाट खुल्यो रहस्य
घटनास्थलमा प्रमाण नभेटिएपछि प्रहरीले उक्त क्षेत्रका व्यक्तिहरूको आपराधिक पृष्ठभूमि केलाउन थाल्यो। सोही क्रममा स्थानीय चन्दनकुमार पटेलको भूमिका शंकास्पद देखियो। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनामा समूह संलग्न रहेको खुल्यो।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा धोबिनी गाउँपालिका–५ कै १८ वर्षीय चन्दनकुमार पटेल, राजकपुर बैठा र रामु पासवानलाई पक्राउ गरेको छ। तीनै जना १८ वर्षका हुन्।

अनुसन्धानका क्रममा तीनै जनाले राजकपुरको घरमा गाँजा सेवन गरेर चोरीको योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। चन्दनकुमार यसअघि पनि चोरी र लागुऔषध कसुरमा विभिन्न समयमा पक्राउ परेका थिए। केही समयअघि उनी काठमाडौंमा पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

हतियार र चोरीका सामान बरामद
प्रहरीले चोरीमा प्रयोग गरिएको हतियार, हत्यामा प्रयोग भएको चक्कु, लखरजियाको घरबाट चोरी भएका सुनजस्तो देखिने दुई थान बाला र ३ हजार ७०० रुपैयाँ बरामद गरेको छ। आरोपितमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न प्रहरीले मंगलबार पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएको छ।