नयाँ दिल्ली।। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीस्थित लालकिल्लाको प्राचीरबाट देशबासीका नाममा सम्बोधन गरेका छन्।

लगातार १३औँ पटक राष्ट्रलाई सम्बोधन गर्नुअघि उनले जल, थल, वायु सेना र दिल्ली पुलिसका जवान सम्मिलित ‘गार्ड अफ अनर’ को सलामी लिएका थिए।

राष्ट्रिय ध्वजारोहणका क्रममा स्वदेशी १०५ एमएम लाइट फिल्ड गनबाट २१ तोपको सलामी दिइएको थियो। लालकिल्ला पुग्नुअघि उनले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले विगत १२ वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ सरकारको दीर्घकालीन दृष्टिकोण सार्वजनिक गरे। यसै क्रममा उनले ‘वन्दे मातरम’ को उल्लेख गर्दै भने, ‘स्वतन्त्रतापछि लालकिल्लाको प्राचीरबाट ‘वन्दे मातरम’ को गुञ्जन सुनिएको यो नै पहिलो अवसर हो। आज हामी सबै ८०औँ स्वतन्त्रता दिवस मनाइरहेका छौँ। भारतका जनताले ‘वन्दे मातरम’ को १५० वर्ष मनाइरहेको यस घडीमा योभन्दा ठूलो अरू के अवसर हुन सक्छ?’

सम्बोधनका क्रममा उत्पादन क्षेत्र, कपडा उद्योग, रक्षा, रेलवे, कनेक्टिभिटी, औषधि उद्योग र स्टार्टअपसम्मका सफलताको समीक्षा गरिएको थियो। साथै कोरोना महामारीको सङ्कट तथा पछिल्ला युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटका बिच सरकारले लिएका नीतिको प्रशंसा गरिएको थियो। प्रधानमन्त्रीले विधानसभा र लोकसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण लागू गर्न सबै राजनीतिक दललाई आह्वान गर्दै ‘विकसित भारत’ निर्माणका लागि ‘शक्तिको सप्तधारा’ को खाका पेस गरे।

नक्सलवादको अन्त्य र ‘दिमागी नक्सलवाद’ को चुनौती

नक्सलवाद र माओवादले लाखौँ युवाको भविष्य तथा अभिभावकका सपना ध्वस्त पारेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री मोदीले यो समस्याले चार दशकसम्म देशको ठूलो भूभाग र जनसङ्ख्यालाई बन्दुकको भरमा थिचेर संविधानको धज्जी उडाएको बताए। यस हिंसामा ३ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मीले ज्यान गुमाउनुपरेको तथ्य उनले प्रस्तुत गरे।

सन् २०१४ मा सरकारले देशलाई नक्सलवादमुक्त बनाउने सङ्कल्प लिएको र आज नक्सल तथा माओवादी हिंसा अन्तिम अवस्थामा पुगेको दाबी उनले गरे। विगतमा नक्सली गोली चल्ने र रक्तपात हुने क्षेत्रमा अहिले विकास र विश्वासको तिरङ्गा फहराइरहेको उनको भनाइ थियो।

यद्यपि यस चुनौतीलाई कमजोर आँकलन गर्न नहुने भन्दै उनले सजग रहन आग्रह गरे। वर्षौँसम्म माओवादी विचार बोकेका मानिसहरू सत्ताका गल्लीहरू र सरकारी सल्लाहकार समितिमा बसेर नीतिहरू प्रभावित पारिरहेका थिए। जङ्गलमा हतियारधारी नक्सलीहरूलाई समाप्त पार्न सफलता मिले पनि ‘दिमागी नक्सलीहरू’ अझै मौकाको पर्खाइमा रहेको र उनीहरूले हिंसा एवं अराजकताको बाटो खोलिरहेको उनले बताए। समाजलाई गलत बाटोमा लैजान खोज्ने यस्ता तत्वलाई पहिचान गरी अलगथलग पार्नुपर्नेमा उनले जोड दिए।

.१२ वर्षका प्रमुख उपलब्धि

विगत १२ वर्षमा देशवासीको सङ्कल्पका कारण २५ करोड नागरिक गरिबीबाट बाहिर निस्कन सफल भएको दाबी सम्बोधनमा गरिएको छ। सन् २०१४ सम्म विश्वले भारतलाई कमजोर अर्थतन्त्रको सूचीमा राखेको भए पनि पछिल्लो एक दशकमा देशले तीव्र आर्थिक गति लिएको उनले बताए।

यो अवधिमा रक्षा उत्पादन चार गुणा, खादी ग्रामोद्योग पाँच गुणा र मोबाइल फोन उत्पादन ३३ गुणा बढेको छ। डिजिटल कारोबार १०० गुणा र पेटेन्ट दर्ताको सङ्ख्या चार गुणा पुगेको छ। विपन्न वर्गका लागि शौचालय र आवास निर्माण, मेट्रो रेलको विस्तार लगायतका काम अभूतपूर्व गतिमा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन् २०४७ सम्म विकसित भारत बन्ने सङ्कल्प अवश्य पूरा हुने विश्वास व्यक्त गरे।

अब भारत अन्य देशमा निर्भर नरही ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ को अवधारणामा अघि बढ्ने उनले स्पष्ट पारे।

.प्रविधि र ऊर्जा सुरक्षा

भारतमा तीन वटा सेमिकन्डक्टर प्लान्ट स्थापना भई उत्पादन सुरु भइसकेको र आगामी सात/आठ वर्षमा थप पाँचदेखि आठ वटा प्लान्ट सञ्चालनमा आउने जानकारी दिइयो। चिप, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा सेन्टरका लागि आवश्यक ऊर्जा सुरक्षा सुनिश्चित गर्न आणविक ऊर्जासम्बन्धी शान्ति विधेयक पारित गरी आत्मनिर्भरतातर्फ कदम चालिएको छ।

इन्धनका लागि कच्चा तेलको निर्भरता घटाउन समुद्री तटको ९९ प्रतिशत ‘नो गो एरिया’ लाई ‘गो अहेड एरिया’ मा रूपान्तरण गरी नयाँ भण्डार खोज्न ८५ हजार करोड रुपैयाँको ‘समुद्र मन्थन’ योजना सुरु गरिएको छ। सन् २०१४ अघि ७० सहरमा मात्र सीमित पाइप्ड ग्यास सेवा अहिले ७०० सहरका पौने दुई करोड घरधुरीसम्म पुगेको छ। त्यसैगरी सौर्य ऊर्जा क्षमता २ गिगावाटबाट बढाएर १६० गिगावाट पुर्‍याइएको छ।

सन् १९२५ मा सुरु भएको रेलवे विद्युतीकरण ९० वर्षमा ३० प्रतिशत मात्र भएकोमा पछिल्लो एक दशकमा ७० प्रतिशत काम पूरा भई कुल १०० प्रतिशत पुगेको छ। यसबाट डिजेलको बचत र वातावरण संरक्षणमा ठूलो सहयोग पुगेको छ। यसै क्रममा भारतले पहिलो हाइड्रोजन ट्रेनसमेत सञ्चालनमा ल्याएको छ।

.पश्चिम एसिया सङ्कट, किसान र सुधारका एजेन्डा

कोरोना महामारी र रूस/युक्रेन तथा पश्चिम एसियाको युद्धका कारण विश्वव्यापी सङ्कट उत्पन्न हुँदा पनि भारतले खाद्यान्न, इन्धन र मलको अभाव हुन नदिएको प्रधानमन्त्री मोदीले बताए। अन्तर्राष्ट्रिय बजारमा प्रतिबोरी ३ हजार रुपैयाँ पर्ने यूरिया भारतीय किसानलाई ३ सय रुपैयाँमा र महँगो डीएपी मल सस्तो मूल्यमा उपलब्ध गराइएको जानकारी उनले दिए।

२१औँ शताब्दीको बाँकी अवधि अत्यन्त महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले अब कार्यसंस्कृति र कामको गति बदल्नुपर्ने बताए। ‘जुन काम पाँच दशकमा हुन सकेन, त्यसलाई आगामी पाँच वर्षमा पूरा गर्नुपर्छ,’ भन्दै उनले सरकार सुधारको बाटोमा दृढताका साथ अघि बढेको उल्लेख गरे।

उत्पादन क्षेत्रको गुणस्तरमा जोड दिँदै उनले शून्य त्रुटि नै भारतीय उत्पादनको पहिचान हुनुपर्ने र विश्व बजारमा गुणस्तरसँग कुनै सम्झौता नगर्ने मन्त्र अपनाउनुपर्ने बताए। खाद्य प्रशोधन र रसायनमुक्त ९अर्ग्यानिक० खेतीमा जोड दिँदै उनले खेतदेखि बजारसम्मको पहुँच विस्तार गरिने बताए।

युवा वर्ग विकसित भारतको मुख्य लाभकर्ता भएकाले उनीहरूलाई विकासको केन्द्रमा राखिएको छ। अढाई लाखभन्दा बढी दर्ता भएका नयाँ उद्यम (स्टार्टअप) का लागि १ लाख करोड रुपैयाँको कोष खडा गरिएको छ। सम्बोधनको अन्त्यमा प्रधानमन्त्री मोदीले ‘नारी शक्ति वन्दन अधिनियम’ को प्रसङ्ग उठाउँदै संसद र विधानसभामा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व दिलाउन सबै राजनीतिक दललाई एकै ठाउँमा आउन आह्वान गरे।