सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।

उनीहरू २०८१ साउनदेखि प्रदेश सरकारमा मन्त्रीका रूपमा कार्यरत थिए। स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री शाह उपचारका लागि बैंकक जानुअघि नै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएर गएका थिए।

कांग्रेस स्रोतका अनुसार मन्त्रीहरूको राजीनामा आकस्मिक नभई पूर्वनिर्धारित सहमतिअनुसार आएको हो। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनुअघि नै मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भए पनि बजेट पारित भएपछि राजीनामा दिने सहमति बनेको बताइएको छ।

दलभित्र मन्त्रीहरूको कार्यसम्पादनबारे प्रश्न उठेकाले नयाँ टोलीलाई जिम्मेवारी दिने विषयमा लामो समयदेखि छलफल हुँदै आएको कांग्रेसका नेताहरूको भनाइ छ।

राजीनामा दिएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी ले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने उद्देश्यले मन्त्रीहरूले पद त्यागेको बताए। उनका अनुसार आलोपालो नेतृत्वको सहमतिअनुसार अब कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री बन्नुपर्ने समय आएको छ।

यद्यपि कांग्रेसले मन्त्रीहरूको राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। यसले वर्तमान सरकारको निरन्तरता वा नयाँ सत्ता समीकरण बन्ने भन्ने विषयमा राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।

राजनीतिक वृत्तमा दुई सम्भावनाबारे चर्चा भइरहेको छ। पहिलो, कांग्रेसको समर्थन कायम रहँदै एमाले संसदीय दलका नेता यामलाल कँडेल कै नेतृत्वमा सरकार अघि बढ्ने। दोस्रो, प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण हुने।

कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २० सिट आवश्यक पर्छ। हाल कांग्रेससँग १५, एमालेसँग १० र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग १४ सिट रहेका छन्।

यसैबीच, एमालेका तर्फबाट सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह ले तत्काल सत्ता परिवर्तनबारे कुनै औपचारिक छलफल नभएको बताएका छन्। यद्यपि कांग्रेसका मन्त्रीहरूको राजीनामापछि कर्णालीको राजनीतिक समीकरण कुन दिशामा अघि बढ्छ भन्ने विषयलाई लिएर चासो बढेको छ।