काठमाडौँ, असार २८ : कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयकी स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले नेपालको आँखा उपचार सेवा तथा शिक्षाको उच्च प्रशंसा गरेकी छन्।

थाइल्यान्डका लागि नेपाली राजदूत तथा कम्बोडियाका लागि समेत गैरआवासीय राजदूत धनबहादुर ओलीसँग भएको भेटमा उनले कम्पोङ चाम प्रान्तमा आयोजित निःशुल्क आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली स्वास्थ्य सेवाको सराहना गरेकी हुन्।

थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल), कम्बोडियाका साझेदार संस्था र राजदूतावासको संयुक्त पहलमा असार २० र २१ गते दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो।

शिविरमार्फत १,००२ जना कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका थिए। नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सेवा लिनेमध्ये ६४१ महिला र ३६१ पुरुष थिए।

शिविरमा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चश्मा तथा १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको थियो। साथै ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय अस्पतालमा रिफर गरिएको थियो।

भेटका क्रममा दुवै पक्षले आँखा उपचारसहित जनस्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, व्यापार तथा आर्थिक सहकार्यलाई अझ विस्तार गर्ने विषयमा पनि छलफल गरेका थिए। राजदूत ओलीले कम्बोडियाको आँखा स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि नेपाल तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको जानकारी दिएका थिए।

त्यसैगरी, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको विश्वप्रसिद्ध अङ्कोर वाट बीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्दै बौद्ध पर्यटन प्रवर्द्धनमा सहकार्य बढाउने विषयमा पनि दुवै पक्षले जोड दिएका छन्।