हेटौँडा ।। (मकवानपुर) हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।

निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन् । २ जना भने बेपत्ता रहेका थिए । बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन् । उनको खोजी जारी छ । खोलाले बगाएका चार विद्यार्थीमध्ये मङ्गलबार राक्सिराङ–१ की रेश्मा स्याङ्तान (कक्षा २ मृतावस्थामा फेलापरेकी थिइन् भने सीमा भ्लोन (कक्षा ६)लाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका छन् ।रासस