काठमाडौं।। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीका विकृति, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था, अनलाइन ठगी र सुशासन जस्ता जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बलावती शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गरिन्।

दैनिक रूपमा नेपालीहरूको शव स्वदेश भित्रिने क्रम नरोकिएको र वैदेशिक रोजगार विभागमा करिब ४६ हजार ठगीका उजुरी अलपत्र परेको भन्दै उनले मुलुकी ऐन र वैदेशिक रोजगार ऐनमा तत्काल संशोधनको माग गरिन्। ठगीको अनुसन्धान गर्ने अधिकार जिल्ला प्रशासन वा प्रहरीलाई दिनुपर्ने र सीपयुक्त जनशक्तिलाई मात्र श्रम स्वीकृति दिनुपर्ने शर्माको सुझाव छ।

स्वास्थ्य क्षेत्रको बेथिति औँल्याउँदै सांसद वसुमाया तामाङले सरकारी अस्पतालमा बिरामीले भुइँमा बसेर उपचार गराउनुपर्ने र पहुँचका आधारमा मात्र सेवा पाउने अवस्था रहेको बताइन्। गरिब नागरिकले अस्पतालमा दुर्व्यवहार सहनुपर्ने वातावरण अन्त्य गर्न र व्यवस्थापनमा सुधार ल्याउन उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन्।

सांसद वासना थापाले कर्णालीका नागरिकले सामान्य औषधि र राहत नपाइरहेको अवस्थामा मन्त्रीहरूको भ्रमण र उपचारका लागि राज्यकोषबाट लाखौँ खर्च हुनु अन्यायपूर्ण रहेको टिप्पणी गरिन्। राज्यको नजरमा मन्त्री र सामान्य नागरिकको जीवन उत्तिकै मूल्यवान हुनुपर्नेमा उनले जोड दिएकी छन्।

पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग र अनलाइन ठगीका विषयमा सांसद विना गुरुङले सरकारको ध्यानाकर्षण गराइन्। सामाजिक सञ्जालमार्फत सामान अर्डर गर्दा रकम लिएर सम्पर्कविहीन हुने अनलाइन स्टोरहरूलाई नियमन र कानुनी दायरामा ल्याउन उनले माग गरिन्।

विपद् व्यवस्थापन र स्थानीय पूर्वाधारका सम्बन्धमा सांसद बुद्धरत्न महर्जन र बुद्धिप्रसाद पन्तले आ(आफ्नो धारणा राखे। सांसद महर्जनले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने बजेट र संयन्त्रको व्यवस्था हुनुपर्ने माग गरे। सांसद पन्तले स्थानीय तहमा सडक, विद्यालयका डेस्क(बेन्च र पंखाजस्ता सामान्य पूर्वाधारको अभावले सर्वसाधारण र विद्यार्थीले सास्ती खेप्नुपरेको उल्लेख गरे।

अछामको विकटता र स्वास्थ्य सेवाको अभावबारे बोल्दै सांसद भरतकुमार स्वाँरले बयलपाटा अस्पतालको प्रभावकारिता र दुर्गममा औषधिको उपलब्धता सुनिश्चित गर्न माग गरे। अर्का सांसद भरतबहादुर खड्काले दिपायल सिलगढीमा निर्माणाधीन ५० बेडको सरुवा रोग अस्पतालको प्रसङ्ग उल्लेख गरेका छन्।

सांसद भरतप्रसाद पराजुलीले भने सरकारका सकारात्मक कामको समर्थन गर्नुपर्ने बताए। प्रधानमन्त्री र मन्त्रीहरू विकास निर्माणको अवलोकनका लागि फिल्डमा खटिएको अवस्थामा आलोचना मात्र गर्नुभन्दा रचनात्मक सहयोगको संस्कृति विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।