खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकमा कुनै अवरोध आए पनि अब खजुरा गाउँपालिका–३ स्थित आदर्श माध्यमिक विद्यालय, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक प्रयोग गरेर नेपालगञ्ज–गुलरिया सहज रूपमा आवतजावत गर्न सकिनेछ।
प्रदेश सरकारको रु. ६ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएपछि उक्त वैकल्पिक सडक सञ्चालनमा आएको हो। यसले खजुरा बजार तथा पेडारी नाला क्षेत्रमा हुने सम्भावित अवरोधका बेला पनि यातायात सेवा निरन्तर सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खजुरा गाउँपालिकाले आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित पूर्वाधार विकासका कामलाई तीव्रता दिएको जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्