काठमाडौं।। काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाँदर र मानव बिचको द्वन्द्वलाई कम गर्न मानवीय र दिगो व्यवस्थापनको प्रक्रिया सुरु गर्ने भएको छ । स्वयम्भू, त्रिपुरेश्वर र थापाथली क्षेत्रमा बाँदरका कारण जनजीवन कष्टकर बनेपछि महानगरले सरोकारवाला र विज्ञहरूसँग छलफल थालेको हो ।
शुक्रबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँगको छलफलमा स्वयम्भूका स्थानीयले बाँदरका कारण आफूहरू घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था आएको गुनासो गरे । बाँदरले हुलका हुल आएर घरभित्रै पसी ५ देखि १० हजार रुपैयाँसम्मको क्षति गर्ने गरेको उनीहरूले बताए । स्थानीयले भने, अरू मानिस चिडियाखानामा गएर तारबार भित्रका जनावर हेर्छन्, हामी स्वयम्भूवासी चाहिँ बाँदरको डरले आफ्नै घरमा तारबार गरेर भित्र बस्नुपरेको छ ।’
बैठकमा प्रस्तुत तथ्याङ्क अनुसार स्वयम्भू क्षेत्रमा अहिले १० वटा समूहमा करिब १ हजार ७ सय बाँदर छन् । वि।सं। २०७५/७६ तिर करिब १ हजार २० को सङ्ख्यामा रहेका बाँदरको सङ्ख्या अहिले ह्वात्तै बढेको स्थानीय श्याम प्रधानले जानकारी दिए । यस्तै, वडा नं। ११ का अध्यक्ष हीरालाल तण्डुकारले त्रिपुरेश्वर क्षेत्रका बाँदर रातो रङप्रति आक्रामक हुने र बाटो हिँड्नेलाई चिथोर्ने तथा टोक्ने गरेको बताए ।
स्थानीयको समस्या सुनेपछि कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बाँदरको मानवीय व्यवस्थापनका लागि तत्कालै नमुना कार्यक्रम सुरु गरिने बताइन् । ‘हामी वन्यजन्तु विज्ञ, स्थानीय र सरोकारवालासँग मिलेर दिगो समाधान खोज्छौँ,’ उनले भनिन्– ‘अध्ययन र कार्ययोजनाका साथ गरिने कामले मात्र द्वन्द्व व्यवस्थापनमा दिगोपना ल्याउनेछ ।’
वडा नं। १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले यसअघि सङ्घ र स्थानीय सरकारको क्षेत्राधिकार स्पष्ट नहुँदा व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै अब महानगरबाटै ठोस समाधान निस्कनेमा विश्वास व्यक्त गरे । छलफलमा विज्ञहरूले बाँदरलाई खान नपाउँदा आक्रामक हुने र पानी उनीहरूको आधारभूत आवश्यकता भएको बताए ।
समाधानका रूपमा स्वयम्भू क्षेत्रको जमिन र रुख-बिरुवालाई असर नपर्ने गरी निश्चित ठाउँमा ‘केज’ (घेरावार) निर्माण गरी उनीहरूको रुचि अनुसारको वातावरणमा व्यवस्थापन गर्न सकिने सुझाव दिइएको छ । महानगरले बाँदरलाई हानी नपुर्याई मानवीय रूपमा उनीहरूको बसोबास व्यवस्थित गर्ने लक्ष्य लिएको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्