काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व इन्द्रजात्रा आजदेखि सुरु भएको छ। हनुमानढोकामा स्थानीय भाषामा यःसी भनिने इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्राको औपचारिक सुरुवात गरिएको हो।
वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने यस पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। हनुमानढोकाअगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा तथा देवीदेवताको पूजार्चनासहित आठ दिनसम्म मनाइन्छ।
इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा समेत इन्द्रजात्रालाई लिने गरिन्छ। काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा पनि इन्द्रजात्रा धुमधामका साथ मनाउने परम्परा रहेको छ।
यसपालि असोज ९ गते इन्द्रजात्राको मुख्य दिन रहेको छ। उक्त दिन राष्ट्र प्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा रहेको छ।
इन्द्रजात्रा काठमाडौं उपत्यकाको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा हरेक वर्ष विशेष उत्साहका साथ मनाइँदै आएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्