काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा सभापति गगनकुमार थापाले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्।
सभापति थापाले कुल मतको ९४.६ प्रतिशत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्काले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन्।

निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवारको सूचीमा दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका चिरीबाबु महर्जन छन्। खुला केन्द्रीय सदस्यमा निर्वाचित महर्जनले ५ हजार ३३० मत प्राप्त गरेका छन्।
त्यस्तै, महिला खुला केन्द्रीय सदस्य वासना थापा ५ हजार १९३ मतसहित तेस्रो र बागमतीबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा छन्। महिला सहमहामन्त्री प्रतिमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेकी छन्।

खुला केन्द्रीय सदस्य निश्कल राईले ४ हजार ९५६ मत प्राप्त गरेका छन् भने दलित सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले ४ हजार ८०३ मत पाएका छन्। जनजाति केन्द्रीय सदस्य तीर्थ लामाले ४ हजार ८५३ मत प्राप्त गरेका छन्।
यसैगरी, खुला केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले ४ हजार ७३२ मत प्राप्त गर्दा गण्डकीबाट ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेलले ४ हजार ५४९ मत पाएका छन्।
अन्तिम मतपरिणामअनुसार सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवारमा सभापति, केन्द्रीय सदस्य तथा विभिन्न समूहका सहमहामन्त्री समेटिएका छन्। निर्वाचनको परिणामले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयनसँगै विभिन्न पदमा निर्वाचित उम्मेदवारले प्राप्त गरेको मतको विवरणसमेत सार्वजनिक गरेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्